१० जुलाई,सिड्नी ।
गत मार्च ३ तारीकमा ठगी आरोपमा पक्राउ परेका सिड्नी बस्ने २० बर्षीय एक नेपाली बिध्यार्थीलाई स्थानीय अदालतले १८ महिनाको जेल सजाय तोकेको छ । न्यु साउथ वेल्स प्रहरीले पक्राउपछि सिड्नीकै बरउड अदालतमा पेश गरि थप अनुसन्धानको प्रकृया थालेको थियो । अनुसन्धानका क्रममा आरोपितले ठगी मुद्दामा आफ्नो संलग्नता स्वीकार गरेका थिए ।
अनुसन्धानका क्रममा भारतबाट सञ्चालित ठगहरूको गिरोहले मानिसहरूलाई बैंकको एजेन्ट बनेर कुरा गर्दै कार्ड सम्वन्धी समस्या आएको बताउँने र क्रेडिटकार्ड कसैले दुरुपयोग गरेको हुन सक्ने भन्दै समाधान गरिदिने भन्दै नेपाली युवालाई मानिसहरुको घरमा पठाउने गरेको र उनीहरुको क्रेडिट कार्डमा भएको मौज्दात रकम आफ्नो खातामा सार्ने गरेको अनुसन्धानमा खुलेको बताइएको छ ।
यस्तै नेपाली युबाले ठगी गरेको पैसाको कमिसन राखेर बाँकी पैसा भारतमा रहेका गिरोहलाई पठाउने गरेको अदालतको बयानमा उल्लेख गरिएको छ । यस्तै प्रकृतिको घटनामा केहि दिन अघि पनि सिड्नीमा एक नेपाली जोडी पक्राउ परेका थिए । उनीहरु पनि अनुसन्धानका लागि पुर्पक्षमा रहेका छन् । उनीहरुको अदालती निर्णय अगष्ट पहिलो साता हुने बताईएको छ ।






