जेठ १५,काठमाण्डौ ।
प्रधानमन्त्री वालेन्द्र साहले नयाँ शुरुवातको नाममा स्थापित राजनीतिक परम्परा तोड्ने सिलसिला कायम छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन नगरेका उनले सामाजिक संजालमा शुभकामना सन्देश पनि दिएनन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १९ वर्ष प्रवेशको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । गृह मन्त्रालयकोसमेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री स्वयं मूल आयोजक समिति संयोजक थिए ।
समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुपर्यो । यसअघि राष्ट्रपति, उपराष्ट्रपति, राज्यका विशिष्ट पदाधिकारी, विदेशी नियोगका अतिथिहरूको उपस्थिति रहने कार्यक्रमलाई सरकार प्रमुखले सम्बोधन गर्ने परम्परा थियो ।
त्यतिमात्र होइन, गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण नगरेर यस पटक अर्को स्थापित परम्परालाई तोडेएका छन् । पूर्वप्रधानमन्त्रीहरू व्यक्ति तथा दलको नेतामात्र नभएर एउटा संस्था पनि हुन् । विगतमा सोही हैसियतमा उनीहरूलाई निम्तो गर्ने चलन थियो । तर, यस पटक निमन्त्रणा नगरिएपछि समारोहमा कुनै पनि पूर्व प्रधानमन्त्रीको सहभागिता देखिएन । तर कुनै मन्त्री पदमा नरहेका रास्वपा सभापती रबि लामिछानेलाई भने सभामुख डिपि अर्यालको पछाडिको मन्त्रीहरुको रोमा आश्न ग्रहण गराईनुले पनि मर्यदा भङ गरिएको प्रष्ट हुन्छ ।
सामाजिक सञ्जालमा स्टाटस लेखिरहने र त्यसैको जगमा जनमत बनाएर सत्तामा पुगेका प्रधानमन्त्रीको पछिल्लो व्यवहारले कतै गणतन्त्र स्वीकार गर्नै अप्ठेरो मानिएको हो कि ? भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा टिका टिप्पणी भएको छ ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेयता हालसम्म एउटा पनि सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका छैनन् । चैत १३ गते शपथ ग्रहण गरेका उनले चैत २६ गते भक्तपुरस्थित नेपाली सेनाको कार्यक्रममा दुई मिनेट बोलेका थिए । त्यसबाहेक कहीं कतै बोलेको सुनिएको छैन ।
आफूलाई प्रधानमन्त्री निर्वाचित गर्ने संसदलाई समेत अहिलेसम्म सम्बोधन नगरेका उनले झापा–५ का मतदातालाई धन्यवाद पनि दिएका छैनन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दा पनि प्रधानमन्त्रीको मौनता कायम छ ।







