उच्च अदालतको आदेशःरास्वपा सभापति रवि लामिछाने पक्राउ

चैत्र २३,काठमाडौँ ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई बुढानीलकण्ठ स्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । अदालतको आदेशपछि प्रहरी टोली लामिछाने निवास बुढानीलकण्ठ पुगेको थियो । उनले विभिन्न बहानामा अलमल्याएपछि प्रहरी झन्डै १ घण्टा लामिछाने निवासमा बस्नु परेको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई आज काठमाडौं प्रहरी परिसरमै राखिने भएको छ । उनलाई शनिबार कसरी रुपन्देही पठाउने भन्ने निर्णय भोलि नै हुने प्रहरी स्रोतले बतायो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । लामिछानेलाई थुनामै राख्न माग गर्दै सरकार रुपन्देही जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगेको थियो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो ।

योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।