२८ फ्रेब्रुअरी,सिड्नी ।
अष्ट्रेलियामा पछिल्ला समय बक्स अफिस सिष्टम बाटै नेपाली चलचित्र प्रदर्शनमा आउन थालेका छन् । बक्स अफिस संगै ब्यक्तिगत रुपमा चलचित्रको प्रदर्शन अधिकार खरीद गरी प्राईभेट शो पनि हुदै आएका छन् । नेपालमा महाशिवरात्रीको अवसरमा बुधबार तीन चलचित्र लाज शरणम्,मायावी र फेरी रेशम फिलिलि प्रदर्शनमा आएका थिए । तर तीन चलचित्र मध्ये अष्ट्रेलियामा लाज शरणम् मात्र बक्स अफिस बाट शुक्रबार देखि प्रदर्शनमा आएको हो ।
लाज शरणम् ले अदालती लफडाका कारण चलचित्रको ट्रेलर समेत सार्बजनिक गर्न सकेको थिएन तर प्रदर्शनको २ दिन अघि सेन्सर पास भएपछि पुर्ब निर्धारीत मितिमा नै चलचित्र प्रदर्सनमा आएको हो ।
हाँस्य कलाकार कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’अष्ट्रेलियाको बिभिन्न शहरमा प्रदर्शनमा आएको हो । प्रदर्शनको पहिलो शो हर्षभिल स्थित ईभेन्ट सिनेमाजको ३।२०को शो संतोषजनक नदेखिए पनि बरउड स्थित ईभेन्ट सिनेमाजको ८।३० बजेको शो हाउसफुल नै थियो ।
चलचित्रले शनिबार र आईतबार विकेण्डका कारण राम्रो ब्यापार गर्नसक्ने देखिन्छ । चलचित्रलाई सेभेनसिज ईन्टरनेश्नलले प्रदर्शनमा ल्याएको हो ।
चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला,प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।