सिड्नी ।
मंगलबार सिड्नीमा आयोजित नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा चौतर्फी रुपमा आएका प्रचारमा सहभागी जुलुसलाई ओपेरा हाउसका सुरक्षाकर्मीले रोकेको सन्दर्भमा नेपाली राजदुताबास क्यानबेराले प्रेस बिज्ञप्ती निकालेको छ ।केहि समय अघि फेसबुक मार्फत् सार्बजनिक प्रेस बिज्ञप्तीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमका सम्बन्धमा विभिन्न अनलाइन न्युज पोर्टलहरूमा प्रकाशित समाचारहरूप्रति राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
यस्तो छ प्रेस बिज्ञप्ती :
प्रेस विज्ञप्ति
७ जनवरी २०२० मा सिड्नीमा सम्पन्न नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमका सम्बन्धमा विभिन्न अनलाइन न्युज पोर्टलहरूमा प्रकाशित समाचारहरूप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकारको निर्देशन र यस राजदूतावासको पूर्व निर्धारित कार्यक्रमअनुसार न्यु साउथ वेल्स राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा राजदूतावासद्वारा आयोजित सो कार्यक्रम पूर्व निर्धारित तालिकाअनुसार आयोजना गरिएको थियो । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईद्वारा बिहान ११ बजे सिड्नीको सर्कुलर कीबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियन सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात् सहभागीहरू भ्रमण वर्षको प्रचारप्रसारका लागि सर्कुलर कीदेखि सिड्नीको प्रमुख पर्यटकीय स्थल ओपेरा हाउससम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापन समितिसँग सम्पर्क गरून्जेलसम्म पर्खन अनुरोध गरेका थिए । व्यवस्थापनबाट खबर आएपश्चात् सहभागीहरू सहजरूपमा ओपेरा हाउससम्म पुगी पुनः सर्कुलर कीमा फर्किएका थिए । यही विषयलाई तोडमरोड गरी केही अनलाईन न्युज पोर्टलहरूमा माननीय मन्त्रीलाई अष्ट्रेलियन प्रहरीले रोकेको भन्नेजस्ता भ्रामक/नकारात्मक समाचारहरू प्रकाशित भएकोप्रति खेद व्यक्त गर्दै अष्ट्रेलियाको कुनै पनि सुरक्षा निकायबाट कार्यक्रमको दौरान कुनै किसिमको अवरोध सिर्जना नगरिएको साथै कार्यक्रम आयोजनाका लागि सिड्नी सिटी काउन्सिलबाट सहमति प्राप्त भएको स्पष्ट पार्न चाहन्छौँ ।
नेपाल र नेपालीहरूको आत्मसम्मानमा चोट पुर्याउने र जनमानसमा भ्रम सिर्जना गर्ने यस किसिमका समाचार सम्प्रेषण तथा टीकाटिप्पणीहरू नगर्न नेपाली राजदूतावास, क्यानबेरा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।
नेपाली राजदूतावास
क्यानबेरा
२०७६ पुस २३