सिड्नी ।
सन् १९९० मा स्थापित नेपाली सांगितिक समुह नेपथ्यले शनिबार सिड्नी स्थित बिग टप लुना पार्कमा आफ्नो सांगितिक प्रस्तुती दिएको छ । तत्कालीन समयमा ३ जना बिध्यार्थी बाट सुरु भएको यो समुह २०१९ सम्म आईपुग्दा अन्तर्राष्ट्रिय संगित उद्दयोगमा समेत परिचित छ ।स्थानीय नेपाली टचले आयोजना गरेको उक्त सांगितिक ईभेन्टमा सिड्नीका करिब तीन हजार दर्शकले नेपथ्यको लाईभ प्रस्तुतीको मनोरन्जन लिए ।
करिब ६ महिना अघि देखि आयोजकले ईभेन्टको तयारी गरेको थियो । बिगतका ईभेन्टमा भन्दा यस पटकको ईभेन्टमा दर्सकको चाप बढेको हो । सिड्नी शो संगै एक महिना अघि देखी नै अष्ट्रेलियामा सुरु भएको नेपथ्यको म्युजिकल टुर मेल्बर्नमा डिसेम्बर २३ मा समाप्त हुनेछ ।सिड्नी शो शोल्ड आउट भएकै कारण केहि दर्शक टिकट नपाएर फर्किएका र केहिले ब्ल्याकमै टिकट किनेर कन्सर्ट हेरेको अनुभब केहि दर्सकले नेपाली टिभिलाई बताए । कन्सर्टमा युबा देखि नेपाल देखी आएका अभिभाबकहरुको समेत सहभागीता थियो ।
नेपथ्य फ्लोक मेलोडी र वेस्टर्न प्याटर्नको रक संगितमा अब्बल छ भने कन्टेम्प्रोरी ट्युनमा समेत यो समुहले आम संगित प्रेमीलाई बाँध्न सफल छ । यो समुहमा स्वरमा अमृत गुरुङ,किबोर्डमा सुरज थापा बेस गिटारमा सुबिन शाक्य,ड्रममा ध्रुब लामा,लिड गिटारमा निरज गुरुङ र मादलमा शान्ति रायामाझी छन् ।पछिल्लो समय अष्ट्रेलियाका ईभेन्टहरुमा दर्शक सहभागीता न्युन हुदै गएको बेला नेपथ्यको सिड्नी शोले यहाँका आयोजकहरुलाई नयाँ जोस थपेको छ भने काम र पढाईमा व्यस्त दैनिकिलाई पनि पुनर्ताजगी प्रदान गरेको छ ।
तस्विर सौजन्य :अरुण चौधरी