२८ अप्रिल,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९)कै कारण अष्ट्रेलियामा रोजगार गुमाएका र बिषेशगरी नयाँ बिध्यार्थीहरुलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको एनएसडब्लु शाखाले राहत बितरण गरेको छ ।कोरोनाभाइरसले विशेषत:पछिल्लो ६ महिना भित्र अष्ट्रेलिया आएका बिध्यार्थी धेरै समस्यामा परेको जानकार बताउछन् ।
अष्ट्रेलियामा जागिर गुमाएका,खान-बस्न समस्या भएका बिध्यार्थीहरुलाई गैर-आवासीय नेपाली संघ लगायतका संघ-संस्थाले समेत राहत बितरण गरिरहेका छन् ।नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सार्बजनिक गरेको राहत फारमको छनौटमा परेका बिध्यार्थीलाई उनीहरुकै घर-घरमा गएर राहत बितरण गरेको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले बताएको छ । समितिले विद्यार्थीको भिषा र कलेजसम्बन्धी समस्या रस्वास्थ्य सम्बन्धी समस्या भएकाहरुलाई समेत विज्ञ टोलीमार्फत् निःशुल्क परामर्श एवम् स्वास्थ्यसम्बन्धी डाक्टरहरुसँग समेत निःशुल्क परामर्श लिन सकिने ब्यवस्था गरेको जनाएको छ ।
समस्यामा परेका बिध्यार्थीहरुले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको फेसबुक पेजमा राखेको राहत फारम भरी राहत लिन सकिने समेत समितिले जनाएको छ । समितिले करिब तीन सय बिध्यार्थीलाई राहत बाड्ने तयारी गरेको समेत बुझिएको छ ।







