एनआरएनलाई स्वदेश फर्कने वातावरण मिलाउन संघको आग्रह

८ भाद्र,काठमाण्डौ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै संघका अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् । सरकारले स्वदेश फिर्तीमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको प्रतिकृया दिए । नेपालमा आफ्न्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्कने वातावरण मिलाउन अध्यक्ष पन्तले जोड दिए ।

संघले सरकारले ससर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्न पनि आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्र परेकामध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीको उद्धार हुँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरूलाई उद्धार गरिएको हो । संघका अनुसार मध्यपूर्वका देशमा अझै एक लाख बढी नेपाली उद्धारको पर्खाइमा छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।