१८ पौष,काठमाण्डौ ।
गैरआवासीय नेपाली संघको निर्वाचनमा भैरहेको ढिलाइप्रति सरकारले चासो व्यक्त गरेको छ । परराष्ट्र मन्त्री नारायण खड्काले संघको निर्वाचन गर्न निर्देशन दिनुभएको हो । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।
मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिनुभएको हो । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताउनुभएको थियो ।
पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।








