त्रिभुवन विमानस्थलमा एनआरएनका लागि भिसा डेक्स

काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैह्र आवासीय नेपाली (एनआरएन) का लागि छुट्टै भिसा डेस्क स्थापना गरिएको छ । गैह्र आवासीय नेपाली सङ्घ एनआरएनए को पहलमा नेपाल सरकार अध्यागमन विभागले विमानस्थल भिसा डेस्क सञ्चालनमा ल्याएको हो ।यसले विदेशमा बस्ने र विदेशी पासपोर्ट भएका नेपालीले आफ्नो जन्म भूमि फर्किदा अरू विदेशीसँगै भिसाका लागि लाइनमा बस्नु पर्ने बाध्यताको अन्त गरिदिएको छ । भिसा डेस्क शुभारम्भको अवसरमा उपस्थित एनआरएनएका पदाधिकारीहरूले यसको प्रशंसा गरेका छन् ।

एनआरएनएका अध्यक्ष भवन भट्टले आफूहरूले गरिरहेको पहलको सुनुवाइ भएकोमा गृह मन्त्रालयको सह्राना गरे । युरोप, अमेरिका र एसियाका कतिपय देशले विमानस्थलमा विभिन्न समूहका व्यक्तिहरूका लागि भिसा डेस्कहरू सञ्चालन गरिरहेका छन् । एनआरएन भिसा डेस्क शुभारम्भ कार्यक्रममा उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त, महासचिव बद्री केसी लगायत एनआरएनए आइसीसीका पदाधिकारीहरू उपस्थित रहेका थिए ।

नेपाल लगानी समिटको अवसरमा नेपाल सरकारको निमन्त्रणामा काठमाडौँ पुगेका एनआरएनए आइसीसीका पदाधिकारीहरूले नेपालमा १०–१२ अरब लगानी गर्ने नेपाल सरकारसँग प्रतिबद्धता जाहेर गर्ने भएका छन् । एनआरएन भिसा डेस्क शुभारम्भ कार्यक्रममा अध्यक्ष भट्टले लगानीको प्रतिबद्धता सम्झौता हुने बताएका हुन् । भट्टले भने “हामी तत्कालै लगानी सम्बन्धी बजेट मिलियन फण्ड, १०–१२ अरब नेपालमा लगानी गर्ने फण्डको एमओयू गर्न जाँदै छौँ । लगानी समिट अगाडि यसले सवैमा पोजेटिभ न्युज जान्छ ।”

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।