सिड्नी ।लामो समय देखी अष्ट्रेलियामा सकृय रहदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका जापानमा हालै आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
सो अवसरमा बोल्दै रोकाले जापानमा म्याग्देलीहरुको बिचमा आफुलाई सम्मानित हुन पाउँदा ज्यादै खुशी लागेको विचार राखेका थिए । विश्वभरि छरिएर रहेका म्याग्देलीहरुलाई एउटै छानामुनि गोलबन्द गर्ने अभियानमा मोनाले अझ धेरै काम गर्न बाँकी रहेको धारणा ब्यक्त गर्दै उहाँले नेपाल भ्रमण वर्षसंग जोडेर जिल्ला सदरमुकाममा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको आयोजनाबाट ठूलो संख्यामा आन्तरिक पर्यटक म्याग्दी भित्र्याउन सकिने विचार ब्यक्त गरे ।
मोना ओसियानाका क्षेत्रिय संयोजक समेत रहेका रोकाले अष्ट्रेलियामा मोनाले भैपरिआउने आर्थिक समस्याका लागि एक करोड रुपैंयाको अक्षय कोष खडा गरेको र हालसम्म तीस लाख भन्दा बढि संकलन भईसकेको जानकारी गराउँदै उक्त कोषको ब्याजबाट भविष्यमा पटक पटक विभिन्न शीर्षकका नाममा चन्दा उठाईरहनुपर्ने झन्झटलाई निरुत्साहित गर्ने लक्ष्य रहेको बताए ।
रोका दम्पतिलाई मोना जापानका उपाध्यक्ष बिशाल केसी र एशिया संयोजक ददिवल खड्का लगायतले खादार्पण तथा मायाको चिनो उपहार प्रदान गरेर स्वागत गरेका थिए । मोना जापानका उपाध्यक्ष बिशाल केसीको सभापतित्वमा भएको सो कार्यक्रममा मोनाका केन्द्रिय कोषाध्यक्ष राम खड्का, मोना जापानका सल्लाहकार गमप्रसाद जुग्जाली, मगर संघ जापानका पूर्व अध्यक्ष शैलेन्द्रविक्रम थापा लगायतले विगतमा भएका मोनाका कार्यक्रमहरुका बारेमा समीक्षा गर्दै मोनाको भावी कार्यदिशाका बारेमा प्रकाश पारेका थिए ।
स्मरणरहोस् मोनाले बिभिन्न मेघा बजेट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्दै आईरहेको छ ।