११ माघ,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्तिले ईजलाश र कानुन व्यवशायीको अपमान र मानमर्दन भएको भन्दै सर्वोच्चमा मुद्धा परेको छ । आज वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले मुद्धा दायर गरेका हुन् । रिटमा प्रधानमन्त्रीले अदालतको समेत मानहानी गरेकाले अविलम्ब कार्बाही गरी सजाय गर्न माग गरिएको छ । ९ गते पार्टीको पेशाकर्मीहरुको भेलामा प्रधानमन्त्री ओलीले आफैमाथि लागेको व्यक्ति हत्या मुद्धामा दुखः गरेर बहस गरिदिने ९५ वर्षका बरिष्ठ अधिवक्ता भण्डारीमाथि बाजे वकिललाई लगेर तमासा देखाएको टिप्पणी गरे पछि चौतर्फी बिरोध र आलोचना हुँदै आएको छ ।
‘अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा ९४० बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु ।’ निवेदकले रिटमा उल्लेख गरेका छन् ।