सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी

२६ असार,काठमाण्डौ ।
हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मधेसी महिलाको स्वाभिमानमा चोट पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता तथा कलाकार क्षेत्रीविरुद्ध उजुरी परेको हो।
वीरगन्जका युवा ओमप्रकाश सरार्फले दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वाभिमानमा आँच पुर्‍याउने गरी कार्यक्रम उत्पादन गरेकोभनी त्यसको विरुद्ध उजुरी दिएको बताइएको छ । सरार्फले दिएको उजुरी हुलाकमार्फत पठाइएको हो । मङ्गलवार उजुरीको लागि जिल्ला प्रहरी कार्यालयमा पुग्दा दर्ता गर्न नमानेकोले कानुनविद्हरूको सल्लाहमा हुलाकमार्फत उजुरी पठाइएको उनले जनाएका छन् ।

प्रहरीले कारबाही नगरे क्षेत्री र कान्तिपुर टेलिभिजनविरुद्ध सडक सङ्घर्ष समेत गरिने वीरगन्जका युवाहरूले चेतावनी दिएका छन् । कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता व्यवस्था लागु हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे प्रस्तुत गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।