अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप,स्थानीय आयोजकले हात झिक्यो

५ असार,मंगलबार ।

अमेरिकामा गर्ने भनिएको ‘नेफ्टा फिल्म अवार्ड’ पहिले नै विवादमा परेको छ । अवार्डमा लैजाने भन्दै सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको थाहा पाएपछि आफूहरूले आयोजनाबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सन जनाएको छ।मानव तस्करी प्रकरणमा सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू जेल गइरहँदा ‘अवार्ड’को बहानामा मानव तस्करीको आशंका देखिएको अर्को घटना उजागर भएको छ।

केही वर्षदेखि नेपालमा ‘फिल्म अवार्ड’को लहर नै चलिरहेको छ। विभिन्न नाममा हुने अवार्ड विदेशमा बढी हुने गर्छन्, कलाको सम्मानभन्दा मानव तस्करीकै लागि। यस्तो विकृति बढेपछि नाम चलेका कलाकारले यसप्रति चासो देखाउन छाडेका छन्। अवार्डमा पुग्ने वास्तविक कलाकारको संख्या घटिरहेको छ । अर्कोतर्फ कलाकार भन्दै सामान्य नागरिकलाई विदेश लैजाने क्रम बढेको छ। कारण हो, उनीहरूबाट मनग्ये पैसा असुलेर विदेश लगेर छोड्नु।

पछिल्लो समय ‘अमेरिकामा गर्न लागेको अवार्ड कार्यक्रममा लैजाने भन्दै एक संस्थाले सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको’ आरोप लागेको छ। सोही घटनापछि अवार्डको एक आयोजकले हात झिकेको छ। आर्थिकदेखि सम्पूर्ण व्यवस्थापन गर्ने संस्थाले हात झिकेपछि अवार्ड अनिश्चित बनेको छ। अवार्डको बहानामा मानव तस्करीको आशंका गरिएको कार्यक्रम हो, नेफ्टा फिल्म अवार्ड’।साउन ६ गते अमेरिकामा हुने भनिएको ‘११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड’को प्रमुख आयोजक नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) हो। सो अवार्डको लागि अमेरिकाको स्थानीय आयोजकमध्येको एक कम्पनी आर्यन फिल्मस् प्रोडक्सनले सम्पूर्ण खर्च ब्यहोर्ने भनिएको थियो।

तर, अवार्डमा लैजाने भन्दै सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको थाहा पाएपछि आफूहरूले आयोजनाबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सन जनाएको छ। ‘अनधिकृत मान्छेको नाम थपिएकाले’ अवार्ड आयोजनाबाट हात झिकेको भन्दै उसले विज्ञप्ति नै निकालेको छ । नेफ्टा अवार्डका यसअघिका धेरै श्रृंखला विवादित बनिसकेका छन्।

३० लाखसम्म असुलेको आरोप
यसपटक पनि चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अमेरिका लैजान लागेको भनिएको ४१ जनामा झन्डै आधाजसो असम्बन्धित व्यक्ति रहेको पाएपछि आफूहरूले विज्ञप्ति निकालेर सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको आर्यन फिल्म्सका महाप्रबन्धक गोपाल कटुवालले बताए।

कटुवालले भने, ‘‘अवार्डको बहानामा सर्वसाधारणलाई अमेरिका तस्करी गर्न लागिएको सूचना आयो। एकै जनासँग ३० लाखसम्म असुल्न थालेको जानकारी पायौं। हाम्रोसमेत बदनाम हुने देखेपछि र हामी समेत कानुनी फन्दामा पर्ने खतरा देखेपछि हात झिकेका हौँ।’’

आर्यन फिल्म्सले जारी गरेको विज्ञप्तिमा भिसा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा अनधिकृत व्यक्ति पनि रहेको उल्लेख छ ।

यो कम्पनी फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलको हो। सो कम्पनीले अर्वाडको लागि होटेल सोल्टीमा मनोनयन कार्यक्रमका लागि अहिलेसम्म १५ हजार डलर खर्च भएको भन्दै फिर्ता माग गरेको छ। आर्यन फिल्म्सका महाप्रबन्धक कटुवालका अनुसार सोही कार्यक्रमको तयारीका लागि दुईजना अमेरिका गएका थिए। उनीहरूलाई लैजाँदा भएको खर्चसमेत फिर्ता नभए आफूहरू कानुनी प्रक्रियामा जाने उनले बताए।

यस विषयमा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने गैर सम्बन्धित व्यक्ति लैजान लगेको आरोपको खण्डन गरेका छन्। साथै आर्यनले हात झिक्दैमा कार्यक्रम नरोकिने दाबी गरे।

उनले भने, ‘‘कार्यक्रम तोकिएकै समय ६ साउनमा हुन्छ। सहयोगी संस्था तथा त्यहाँका स्थानीय आयोजक आर्यन फिल्म्सका सञ्चालक रमेश एमके पौडेललाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। अवार्डमा बाहिरी मान्छे लैजान लागिएको र पैसा उठाएको कुरो भ्रणपूर्ण छ। यसमा विश्वास नगर्न अपिल गर्दछौँ।’’

चलचित्र प्राविधिक संघले आफूलाई लागेको आरोपको केही दिनमा सार्वजनिक खण्डन गर्ने पनि बताएको छ। ‘‘यो आरोपको बारेमा हामी केही दिनमा धारणा सार्वजनिक गर्नेछौँ, अहिले हामीमाथिको आरोपबारे बाहिर केही थप हल्ला नगरिदिनुहोला’’ अध्यक्ष लामाले भने।

तर, चलचित्र प्राविधिक संघले आफूसँगको आयोजक र मिडिया पार्टनर भन्दै अवैधरूपमा सञ्चालित केही मिडियाको नाम समेत पोस्टरमा राखेको छ। काठमाडौंको बागबजारबाट सञ्चालित दर्ता नभएको एक अनलाइन पोर्टललाई अमेरिकाको न्युजपोर्टल भन्दै प्रचार गरिएको छ।

‘अमेरिका लान्छु भन्दै पैसा उठाउँदै’
‘अवार्डमा अमेरिका लैजाने भन्दै’ जसले पायो उसले पैसा उठाइरहेका छन्। कलाकार, पत्रकार तथा बिचौलियाहरू अवार्डको लागि अमेरिका लैजाने भन्दै मान्छे खोजिरहेका छन्।

प्रतिव्यक्ति सरदर ३० लाख रुपैयाँका दरले पैसा उठाइरहेको फिल्म वृत्तमा चर्चा छ। सोही अवार्डको लागि भन्दै अमेरिका लैजाने बताएर चलचित्र प्राविधिक संघमा आबद्ध नभएका कतिपय मानिससमेत पैसा उठाउन सक्रिय छन्।

मुख्य लगानीकर्ता आर्यन फिल्म्सले हात झिकेपछि आयोजकमा चलचित्र प्राविधिक संघ (नेफ्टा), युएस खबर, फेम नेपाल, आरएन्डएस ग्लोबल फाउन्डेसन छन्। सह आयोजकमा एनआरएनए अमेरिकालाई राखिएको छ।

कार्यक्रम गर्न आयोजकलाई दबाब, भिसा प्रक्रिया अन्योल
अमेरिकाको आयोजकले नै हात झिकेपछि ४१ जनामध्येबाट २५ जनालाई अमेरिका लैजाने प्रयासमा चलचित्र प्राविधिक संघ लागेको बताइन्छ।

जसमा केही पत्रकार पनि छन्। तैपनि, उनीहरूको भिसा प्रक्रिया नै अन्योलमा छ। आयोजक विभिन्न सरकारी निकाय तथा व्यापारिक प्रतिष्ठानमा स्पोन्सर खोज्न दौडधुपमा छन्।

नेपालस्थित अमेरिकी दूतावासको कार्यालयले पनि ‘अवार्डको नाममा मानव तस्करीको सूचना पाएपछि भिसामा कडाइ गरिएको’ जनाएको छ। दूतावासका कन्सुलर शाखाका एक उच्च अधिकारीले भने ‘‘पछिल्लो समयमा अवार्डको लागि भन्दै धेरै आवेदन आइरहेका छन्। त्यसमा कडाइ त छँदै थियो। पछिल्लो घटनामा थप कडाइ गरिएको छ।’’

कार्यक्रम नै अन्योल भएपछि आयोजक चलचित्र प्राविधिक संघले केही नाम चलेका कलाकारलाई सहयोग गरिदिन भन्दै हारगुहार गरिरहेको छ। तर, अवार्ड विवादमा आएपछि कलाकारले पनि बेवास्ता गरिरहेका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।