संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्षमात्रै उपस्थित

१ पुस,काठमाण्डौ ।
विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि आज बसेको संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो ।बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदमा पदपूर्तिबारे छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले बताउनु भयो । बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । आज बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो ।

त्यसअगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । अध्यादेशले परिषदको निर्णयसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । अब परिषदले अध्यक्षसहित तत्काल बहाल रहेको सदस्यको बहुमत अर्थात प्रधानमन्त्रीसहित ३ जना सहमत भएमा निर्णय गर्न सक्नेछ ।

यसअघि परिषदसम्बन्धी ऐनमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो । सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसकेमा बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।