इलाम अपडेट : राजावादी उम्मेदवारको ‘कन्तबिजाेक’

नेपालमा पछिल्लो समय गणतन्त्रका विपक्षमा राजावादीहरूको स्वर चर्को मात्र सुनिंदै आएको छ । गणतन्त्र नेपालका लागि अफापसिद्ध भइसकेको भन्दै पछिल्लो समय राजावादीहरुको सक्रियता समेत बढेको छ । जसको मुख्य अगुवाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ ।उनीहरूको चर्को भाषण र देशभरका गतिविधिले साँच्चै गणतन्त्रवादीको दिन सकिन लागेको त होइन भन्ने आंशका सर्वसाधरण नागरिकमा परिरहेको छ । तर इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको परिणामले राजावादी पार्टी राप्रपाको हैसियत छर्लङग्याई दिएको छ ।
गत शनिबार भएको मतदानको मत गणना जारी छ । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २७ हजार ६ सय १४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ११ हजार ७८ मतसहित अगाडि छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ३ सय २४ मतले पछ्याइरहेका छन् । उनीहरुबीच ३ हजार ७ सय ५४ मतको फरक छ । त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ६ हजार ९ सय १ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १हजार ५ सय १२ मत ल्याएका छन् । अहिलेसम्म इलाम–२ मा राजावादी पार्टी राप्रपाले ५५ मत मात्र ल्याएको छ । इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।