१ पुस,काठमाण्डौ ।
विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि आज बसेको संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो ।
बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदमा पदपूर्तिबारे छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले बताउनु भयो । बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । आज बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो ।
त्यसअगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । अध्यादेशले परिषदको निर्णयसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । अब परिषदले अध्यक्षसहित तत्काल बहाल रहेको सदस्यको बहुमत अर्थात प्रधानमन्त्रीसहित ३ जना सहमत भएमा निर्णय गर्न सक्नेछ ।
यसअघि परिषदसम्बन्धी ऐनमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो । सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसकेमा बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।







