६ साउन,काठमाण्डौ ।
हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ को भूमिका निर्वाह गरेपछि चर्चित बनेकी हाँस्य कलाकार पल्पसा डंगोल यतिबेला दुबै मृर्गौलाले काम गर्न छोडेपछि केहि दिन देखी शिक्षण अस्पतालमा उपचाररत छिन् । उनलाई चिकित्सकले जतिसक्दो चाँडो मृर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको उनी निकट कलाकार बताउछन् ।
पल्पसाको मृगौला फेल भएको खबर सार्बजनिक भएलगत्तै उनको उपचारका लागि भनेर उनका शुभचिन्तकहरुले पैसा उठाउन शुरु गरिसकेका छन् । तर, उनले आफ्ना लागि आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेकी छन् । कलाकार दीपाश्री निरौलाका अनुसार, मृर्गौला प्रत्यारोपणका लागि १५-२० लाख खर्च लाग्ने भएकाले उक्त रकम पल्पसा आफैंले तिर्ने भएकी छन् ।
सुरुमा चिकित्सकले मृर्गौला प्रत्यारोपणका लागि ५० लाख खर्च लाग्ने बताएका थिए । तर, अहिले चिकित्सकले १५-२० लाखमै उपचार हुने बताएका छन् । दीपाश्री भन्छिन्, ‘पल्पसाले रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताउनुभएको छ । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले अहिले आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भइरहेको छ ।’
पल्पसाले विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी परिवारबाहेक कसैलाई पनि दिएकी थिइनन् । एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।








