१९ फाल्गुण,काठमाण्डौ ।
केहि दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बाटै पक्राउ परेका विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई
जिल्ला सरकारी वकिलको कार्यालयले पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग्दै सरकारी वकिलले अभियोगपत्र दर्ता गरेको हो ।
उक्त मुद्दामा दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । गीतकार महेश आचार्यको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल आउँदै गरेको बेला रेग्मीलाई प्रहरीको साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले अदालतबाट म्याद थप समेत गरेको छ ।
सामाजिक सञ्जालमा चरित्रहत्या हुनेगरी निकृष्ट गालीगलौज गरेको भन्दै आचार्यले उजुरी दिएका थिए । उनको उजुरीमाथि गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् ।