मलेसियामाथि नेपालको सानदार जित

(रासस)
संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो ।यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ । यसअघि नेपालले सिङ्गापुर, कुवेत र हङ्कङलाई पराजित गरेको थियो ।

मलेसियाले दिएको ७३ रनको समान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा ग¥यो । नेपालका लागि दुवै ओपनर अविजित रहे ।

ओपनर दीपक बोहोराले अविजित ३८ रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले २१ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ७२ रनको योगफल बनाएको थियो ।

मलेसियाका लागि अक्रम मालेकले सर्वाधिक २६ रनको योगदान दिए भने मोहमद हैरिल हरिसन र मोहम्ममद स्याहिर स्यामिलले समान १२/१२ रन बनाए । नेपालका लागि दीपेश कँडेलले ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट झारे ।

त्यसैगरी मिलन बोहोराले २ तथा सुवास भण्डारीले १ विकेट लिए । अब नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग यही फागुन १८ गते खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यु–१९ विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।