नेपाल आइसिसी विश्वकप छनोट: नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

असार १० आइतबार |
नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेले ।

पहिलो रोजाईका प्रमुख ७ बलर (पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर, रोलेफ भान मर्वे र स्पिनर टिम प्रिन्गल) नेदरल्यान्ड्सको टोलीमा थिएनन् । प्रिन्गल चोट र अन्य खेलाडी इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा टोलीमा थिएनन् ।

तर पनि राम्रो गृहकार्यका साथ नेदरल्यान्ड्सका बलरले नेपाली ब्याटरको कमजोरीमाथि नै बलिङ गर्दै कुनैपनि समय खुलेर खेल्न दिएनन् । नेपालले हार्नुमा ब्याटरको गल्ती प्रमुख कारण छ । समग्रमा नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छ ।

५.ठूलो साझेदारीको अभाव

क्रिकेटमा विशाल योगफल बनाउन एउटा ठूलो साझेदारीको आवश्यक पर्छनै । तर नेपालले ब्याटिङ सुरुवात देखीनै भने राम्रो गर्न सकेन । तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको थियो । त्यो समय नेपालले ७ रन जोडेका थियो । ओपनरबाट राम्रो सुरुवात नहुँदा नेपाल दबाबमा पर्यो । नेपालले पहिलो पावर प्ले अर्थात १० ओभरमा २३ रन मात्रै बनाएको थियो ।

राम्रो लयमा रहेका कुशल भुर्तेल २७ रनमा आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा छ । दोस्रो विकेटका लागि भीम र कुशलले ३७ रनको साझेदारी गरेका थिए । आरिफ शेख ६ रनमै क्याच आउट हुँदा नेपाल १६.१ ओभरमा ५४–३ को अवस्थामा थियो । नेपालले रन जोड्न सकेको थिएन । नेदरल्यान्ड्सलाई मध्यम लक्ष्य दिएर जित्न सक्ने अवस्था थिएन ।

तर खुलेर रन बनाउन पनि सकेको थिएन । नेपालले लगातार विकेट गुमाउँदै पूरा गर्यो । नेपाल सुरुवाती २५ ओभरमा ९१–४ को अवस्थामा थियो । नेपालको प्लेइङ ११ मा ललित बाहेक अन्य सबै खेलाडीले ब्याटिङको क्षमत राख्छन् । त्यसैले एउटा ठूलो साझेदारीले खेलमा फर्किन सक्थ्यो । तर कुनैपनि खेलाडीको जोडीले राम्रो र ठूलो साझेदारी गर्न सकेनन् ।

साझेदारी हुँदा रन बनाउन सहज हुन्छ । क्रिजमा धेरै समय बिताएपछि रनको गति पनि बढ्छ । तर नेपाली ब्याटरले त्यो धैयता क्रिजमा देखाउन सकेनन् । त्यसैले सस्तैमा अल आउट भएको हो । नेपालले जिम्बावेविरुद्ध २ सय ९० रन बनाउनुको मुख्य कारण पहिलो विकेटका लागि आसिफ र कुशलको १ सय ७१ रनको शतकीय साझेदारी नै थियो ।

४.महत्वपूर्ण टस हार्नु

नेदरल्यान्ड्सविरुद्ध टस निकै महत्वपूर्ण हुने पक्का थियो । नेपालले पहिला भन्दा पनि लक्ष्य पछ्याउँदा सानदार प्रदर्शन गर्दै आएको थियो । नेदरल्यान्ड्सका प्रमुख बलर नहुँदा दोस्रो इनिङमा ब्याटिङ गर्न सहज हुन सक्थ्यो ।

तर नेपालले पहिला टस हारेर ब्याटिङको निम्तो पाएको थियो । विहानको समयमा ब्याटिङ गर्न कुनैपनि टोलीलाई कठिन पर्दछ । नेदरल्यान्ड्सले पनि त्यसको भरपूर्ण फाइदा उठायो । यदि टस जितेर नेपालले लक्ष्य पछ्याएको भए नतिजा अर्कै आउन सक्थ्यो ।

३.बलिङमा सानदार सुरुवात गर्न नसक्नु

नेपालले उक्त ब्याटिङ गरेपछि जितको अन्तिम आशा बलिङ थियो । बलिङमा पनि नेपालको सुरुवाती १० ओभरले निर्धारण गर्दथ्यो । पावर प्लेमा नेपालले तीन वा चार विकेट लिन सकेको खण्डमा खेलमा पुरा हाबी बन्न सक्थ्यो ।

दबाबमा मध्यक्रमका ब्याटरको प्रदर्शन थप खराब हुन सक्थ्यो । नेदरल्यान्ड्सको तल्लोक्रम ब्याटिङ भने कमजोर छ । तर पावर प्लेमा कुनै विकेट नदिई नेपालले ५८ रन खर्चेको थियो । पावर प्लेमै नेपालको हार पक्का बनेको थियो ।

२.खराब ब्याटिङ

नेपालको हारको एक कारण खराब ब्याटिङ हो । नेपालका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले ७ प्रमुख ब्याटर खेलाएको थियो । ७ मध्य दुई ब्याटरले ठूलो इनिङ खेल्नु पर्ने थियो । उक्त पिचमा रन बनाउन त्यति धेरै कठिन भने थिएन । आउट फिल्ड भने केहि स्वलो थियो ।

अनुभव र धैर्यताको कमीको कारण नेपाली ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् । नेपालको तर्फबाट सर्वाधिक धेरै रोहित पौडेलले ३३ रन बनाएका थिए । १२ टेस्ट टोलीसँग सुपर लिग खेल्दै आएको एसोसिएटको शीर्ष टोली नेदरल्यान्ड्सलाई जित्न उक्त योगफल पर्याप्त थिएन ।

१. नेपाली ब्याटरले शर्ट बल खेल्न नसक्नु

नेपालको हारको मुख्य कारण शर्ट बल र बाउन्सर बल खेल्न नसक्नु हो । नेदरल्यान्ड्सका तीव्र गतिका बलरले नेपालको कमजोरीको भरपूर्ण फाइदा उठाउँदै लगातार बाउन्सर र शर्ट बलका साथ नेपाली खेलाडीलाई दबाबमा राखे । कुनैपनि नेपाली ब्याटरले शर्ट बलको सामना धेरै समय गर्न सकेनन् ।

कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, दीपेन्द्र, करण, गुलशन सट बलमै आउट भएका थिए । नेदरल्यान्ड्सका लोगन भान बिक, बास डि लिडे, लायन केलिन र बिक्रमजित सिंहले लगातार शर्ट बलका साथ नेपाली ब्याटरलाई दबाबमा राखेका थिए ।
कुशल मल्ल तेजाबाट उत्कृष्ट क्याच आउटको शिकार भएका थिए ।

लोगन भान बिंकले चार, लिडे र सिंहले समान दुई विकेट लिएका थिए । आसिफ शेख इन साइट एज लागेर आउट भएका थिए । अन्य ६ खेलाडी शर्ट बलमै आउट भएका थिए । शर्ट बल खेल्न नसक्दा नै नेपाल सस्तैमा अल आउट हुन पुगेको थियो । हाम्रो खेलकुदका साथमा ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।