विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

भेषराज कार्की (रासस)
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् ।निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो ।“स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएकोछ”, उहाँले भन्नुभयो, “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।”

शत्रु गते, जात्रै जात्रापश्चात् अहिले ‘महापुरूष’ विदेशमा प्रदर्शन भइरहेका छन् । महापुरुष चलचित्रले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अष्ट्रेलिया र युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडीमुलुकमा समेत राम्रो व्यपार गरिरहेको छ । उल्लेखित देशमा अन्य विदेशी चलचित्र हेरिए झैँ हलमै पुगेर ‘महापुरूष’ पनि हेर्न सकिन्छ ।

संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताउनुभयो । “समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ ।

हामीले विदेशी चलचित्रझैँ नेपाली चलचित्र पनि हलमा प्रदर्शन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ स–परिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् ।

अहिले प्रदर्शन भइरहेको महापुरूषले नयाँ रेकर्ड बनाउँदैछ ।” वितरक सुवेदीले नै कबड्डी ४, प्रेम गीत ३ जस्ता चलचित्रसमेत अमेरिकामा प्रदर्शन अधिकार लिएर वितरण गर्नुभएको थियो ।
नेपाली चलचित्रका लागि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया पनि राम्रो मानिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।