प्रचण्डसँग हमालले भने,राजनीतिमा आउन पनि सक्छु

१८ असार,काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा शुक्रबार भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो ।भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो । अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्‍याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गर्नुभएको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गर्नुभएको थियो ।
कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रसन्नता व्यक्त गर्नुभएको थियो ।

उहाँले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताउनुभएको थियो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।