क्रिप्टोकरेन्सीको प्रचार गरेकोमा प्रियंका कार्की सिआईबीको अनुसन्धानमा

७ चैत्र,काठमाण्डौ ।
नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई आईतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ ।अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआइबीले सोधपुछ गरेको व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए। ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाइँले पनि गर्नुस् भन्दै अभिनेत्री कार्कीले विवादास्पद कुरा लेख्नुभएको रहेछ। त्यही विषयमा सोधपुछ भएको हो। यो विषय अनुसन्धानमै छ,’ उनले भने, ‘राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई बर्जित गरेको छ।’सामाजिक सञ्जालमा तस्बिरसहित विज्ञापन देखिएपछि व्युरोले अभिनेत्री कार्कीलाई सोधपुछका लागि सम्पर्क गरेको थियो ।

क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग गरेको भन्दै आफू प्रहरी कहाँ पुगेको प्रियंकाको दाबी छ । आफूले क्रिप्टोकरेन्सीबारे कुनै पनि अभिव्यक्ति नदिएको उनको भनाइ छ। ‘क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोही मान्छेले मेरो फोटो हालेर डिजिटल एप बनाएछ । कार्कीले भनिन्, ‘त्यो मेरो नजरमा आइसकेपछि मैले बरु सिआइबीसँग मिलेर कहाँबाट आएको, कसले पोस्ट गरेको भनेर अनुसन्धानमा सघाउन लागेको हुँ।‘ उनले आफ्नो तस्बिर दुरुपयोग गरेर आफू पीडित भएको बताइन्। ‘मैले प्रहरीलाई स्टेटमेन्ट लेखेर दिएको छु ।

क्रिप्टोकरेन्सीमा मेरो फोटो मिसयुज गरियो । क्रिप्टोकरेन्सीमा मैले इन्भेस्ट गरेको छैन। मेरो नाम गलत तरिकाले कसरी जोडियो? यो कहाँबाट, कसले, किन गरिरहेको छ? मैले व्युरोसँग सहयोग मागेकी हुँ,’ उनले भनिन्।

केही समयअघि नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेवसाइटहरू बन्द गर्न निर्देशन दिएको थियो । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायत वेवसाइट र एपहरु बन्द प्राधिकरणले निर्देशन दिइसकेको छ । अनलाइनमार्फत् हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी निषेध वा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।

यस्ता कारोबारले आर्थिक अपराध बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो । ब्युरोले कार्कीको मोबाईल समेत थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । कार्कीलाई भने परेको बेला उपस्थित हुने सर्तमा उनका श्रीमानको जीम्मा लगाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।