२९ कार्तिक, काठमाडौं ।
नब कलाकार मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छिन् । उनको स्थानमा कलाकार उपासना ठकुरीले अभिनय गर्ने भएकी छन् । पढाई र सुटिंगको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेको बताईएको छ । निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को चलचित्रको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी
थिईनन् । निर्देशक कार्कीले भने, ‘पहिले उपासनाले चाहेर पनि समय दिन सकेकी थिईनन् तर अहिले भने उहाँको समय मिलेको छ । हामीले सहमती गरेर अगाडी बढिसकेका छौं । अब मलिकाले अभिनय गर्ने भुमिका उपासनाले गर्नेछिन्’ ।उपासना पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् । यो चलचित्रबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ ।
त्यस्तै, महानायकको जोडीको रुपमा निलिमा चन्दले अभिनय गर्ने भएकी छन् भने अभिनेत्री निरुता सिंहसँग पनि यो चलचित्रमा अभिनयको लागि कुराकानी भईरहेको निर्माता सापकोटाले बताए ।
चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ ।
पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ । यो चलचित्रबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् ।
चलचित्रमा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् ।








