१४ साउन, काठमाडौं ।
श्रीलंकाले दोस्रो टी-ट्वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्वान्टी आइ श्रृंखलामा १-१ को बराबरी गरेको छ ।
कोलम्बोको प्रेमादासा खेल मैदानमा गएराती सम्पन्न खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३२ रन बनाएको थियो ।
जीतको लागि १३३ रनको लक्ष्य लिएर ब्याटिङमा आएको श्रीलंकाले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जीत आफ्नो हातमा पारेको हो । श्रीलंकाका धनञ्जय डी सिल्वाले ३४ बलमा एक चौका र एक छक्कासहित ४० रनमा अविजित रहँदै श्रीलंकालाई २ बल बाँकी हुँदा जीत पक्का गराएका थिए ।
उनि हिजोको खेलका म्यान अफ द म्याच समेत घोषित भए ।श्रीलंकाले हिजोको खेलमा ८ जना बलरलाई प्रयोग गरेको थियो । पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम निर्णायक खेल भने आज साँझ सवा आठ बजेबाट खेलिंदैछ ।








