देशको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः विप्लव

फागुन २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेकोले यसको इमान्दारीताका साथ आफुहरुले पालना गर्ने बताएका छन् ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’
मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् ।

नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै विप्लवले भने, ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ । घुमिफिरी रुम्जाटार पुग्ने परम्परा बन्द गर्नपर्छ ।’

विप्लवका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना रहेको विप्लवले बताए ।
सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए ।

महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई घाम र जूनको भेट सँग तुलना गरेका थिए । उनले भने,’ धेरैले अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए ।

झापा आन्दोलनको सन्दर्भकै दिन आफ्नो पार्टीले सरकारसँग तीन बुदे सहमति गर्नु सुखद् संयोग भएको उनले बताए । ‘आज एउटा सन्दर्भको दिन छ । एउटा अँध्यारो समय, परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जंगलमा पाँच अग्रजले रगत दिएका थिए । उनीहरुले सहर्ष नेपाल र नेपाली जनताका लागि समर्पण गरेका थिए,’ उनले भने,’ त्यो दिनसँग आजको दिन जोडिएको छ । आजको दिन जसलाई हामीले सहिदको स्मरणको दिवस मनाउँदै आएका छौं ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।