काठमाडाैंमा उखु किसानहरुको आन्दोलन

२८ मंसिर,काठमाण्डौ ।
चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका उखु किसानहरु आजबाट आन्दोलित हुँदैछन् । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आएका छन् । उखु किसानहरु पटक पटक भुक्तानी नपाएकोमा बिरोध गर्दै आएका छन् । उखु किसानहरुले लिनुपर्ने ९० करोडभन्दा बढी रकम उठाउन किसानहरुले आन्दोलन घोषणा गरेका हुन् । देशभरबाट एक हजार बढी उखु किसान काठमाडौंमा भेला भएर पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी छ । उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले आजबाट वार कि पारको आन्दोलन सुरु भएको बताए । किसानहरुले पाउनुपर्ने रकम पाएपछि मात्रै घर फर्किने उल्लेख गर्दे उहाँले सहमतिका नाममा कागज गरेर फर्किने अवस्था नभएको बताए ।

यसअघि २३ कात्तिकमा पनि काठमाडौं आएका उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने चेतावनी दिएका थिए । यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको थियो । नगदे बालीका रूपमा परिचित उखु खेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।