२७ फागुन,काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तार हुन तयार रहेको बताएका छन् । झापाबाट काठमाडौँ आएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष समेत रहेका प्रसाईंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू गिरफ्तार हुन काठमाडौँ आएको बताएका हुन् ।प्रसाईंले नयाँ मन्त्रिपरिषद् विस्तार भएसँगै नवनियुक्त मन्त्रीहरुले आफूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएसँगै गिरफ्तार हुन काठमाडौँ आएको प्रतिक्रिया दिएका छन् । सो क्रममा प्रसाईले नव नियुक्त गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सक्ने हिम्मत लिएर आउन ठाडो चुनौती समेत दिए ।
त्यस्तै, उनले सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब ठगी गरेर फरार रहेका जिबी राईलाई गृहमन्त्रीले पक्राउ गर्न सक्दैन र सहयोग मागेमा आफुले ७ दिन भित्र पक्राउ गर्ने दाबी गरे । साथै उनले भने ‘मलाई समय दिए यस्ता ठगी र भ्रष्टाचारका फाइल प्रमाणसहित बुझाउँछु, तर फाइल खोल्ने आँट गर्नुस् ।’
त्यस्तै, उनले अहिले देशलाई भित्रभित्रै माफियाहरुले सखाप पार्न लागेको आरोप लगाउँदै सन् २०३० सम्म यो देश माफियाले लिइसक्ने पनि घोषणा गरेका छन् ।