सहकारी ठगी : गृहमन्त्री रवि लामिछानेकी पत्नी निकितादेखि विश्वास पात्र नेतासम्म

काठमाडौं, २३ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो ।

यसरी सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो ।

महानगरको अनुगमन टोलीले बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ ।

यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सस्टम पनि महानगरको टोलीले ल्याएको हो ।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।

महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो ।

विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए ।

सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् ।

भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ ।

सोही समूहले पूर्वअध्यक्ष भरत जंगमको हस्ताक्षर किर्ते गरेर अन्तर सहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको महानगरले जनाएको छ ।

सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी सहकारी ठगीमा मुछिएका छन् । श्रममन्त्री अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन् भने बुर्लाकोटी सह–महामन्त्री हुन् ।

उनीहरु दुबै सभापति लामिछानेका प्रियपात्र हुन् । अर्याल र बुर्लाकोटीले ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को सञ्चालनका क्रममा बचतकर्ता ठगी गरेको पाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको थियो ।

मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ । श्रममन्त्री अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए ।

बुर्लाकोटी प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार रहेका थिए । सहकारी विभागको सिफारिसमा माघ १२ गते समस्याग्रस्त घोषणा भएको सहकारीमा पछिल्लो एक वर्षदेखि गितेन्द्र बाबु (जीबी) राई अध्यक्ष छन् ।

जीबी राई र रवि लामिछाने मिलेर ग्यालेक्सी टेलिभिजन खोलेका थिए । हाम्रो नयाँ कृषि सहकारीले २६ जना बचतकर्ताको ४ करोड ९२ लाख रुपैयाँ बचत फिर्ता नगरेको कार्यालयले जनाएको छ ।

संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि कार्यालयले सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना जारी गरिसकेको जनप्रहार साप्ताहिकमा उल्लेख छ ।

काठमाडौंको बालुवाटारमा रहेको सहकारीले २०७७ साल साउन २७ गते साधारणसभा गरेको थियो। सभाले ४ वर्षका लागि सूर्यबहादुर गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक चयन गर्यो ।

उपाध्यक्षमा वर्तमान श्रममन्त्री डीपी अर्याल, सचिव उत्तम अधिकारी, कोषाध्यक्ष जनक गौतम रहेका थिए ।

यस्तै सञ्चालक सदस्यमा कृष्णकुमार न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र शर्मिला तामाङ रहेका थिए ।

चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको भए पनि कार्यकाल नसकी २०७९ साल असोज २२ गते साधारणसभा बोलाउन लगाएर अर्याल, बुर्लाकोटीको सक्रियतामा सहकारीको अध्यक्ष राईलाई चयन गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।