४ मंसिर,काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार सन्दीप लामिछानेले अस्ट्रेलियाको टी २० फ्रेञ्चाइज लिग बिग ब्यास लिग खेल्ने भएका छन् । लिगको सिजन २०२० २१ का लागि लामीछानेले होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले २० वर्षीय युवा स्पिनर सन्दीपसँग सम्झौता भएको बिहीबार घोषणा गरेको छ। सिजनको बिबिएल डिसेम्बरबाट सुरू हुने भए पनि सन्दीप जनावरीदेखि आबद्ध हुनेछन् ।
हुरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीप टिमको बलिङ आक्रमणका लागि एक्स फ्याक्टर हुने बताएका छन्। सन्दीपसँग सम्झौता गरेसँगै हुरिकेन्सको टिम पूर्ण भएको छ। हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्ट लगायतका खेलाडी छन्।
विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन, सन्दीप लामिछाने र वेस्ट इन्डिजका किमो पाउल छन्। सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। उनले दुई सिजनमा २० खेल खेल्दा २६ विकेट लिएका थिए।








