काठमाडौँ , १४ असोज ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ। संवैधानिक इजलासमा बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारलाई सरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए।प्रधानन्याधीशको अध्यक्षता रहने संवैधानिक इजलास बुधबार र शुक्रबार गरी हप्ताको दुई दिनमात्र बस्छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिएका थिए। यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी वामदेवलाई थप जिम्मेवारी नदिन आदेश दिएको हो।






