पाँच महिना पछाडि धकेलिएको आइपिएल आज बाट सुरु हुँदै!

कोरोना भाइरसले पाँच महिना धकेलिएको विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि सुरु हुँदैछ। भारतमा कोरोना संक्रमण लगातार बढेपछि याे वर्षको खेल युएईमा हुँदैछ।

पहिलो खेलमा शनिबार नेपाली समयअनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ। दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन्।

आइपिएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ भने। यस्तै चेन्नई तीन पटक च्याम्पियन बनेको छ। 

गत सिजन उपविजेतामा सीमित भएको चेन्नई आइपिएलको हरेक संस्करणको अन्तिम चारमा पुगेको छ।

यसपटकको आइपिएलका लागि खेलाडी,अफिसियल लगायतले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ। दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सबै खेलाडीलाई आफ्नो टिम होटल छाड्न बन्देज लगाइएको छ।

आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन्। जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।

मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्ने तय छ। यस्तै सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्ने तय छ।

यस्तै चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका ७-७ खेल दुबईमा छन्। राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा छन्।

आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने यस खेलमा पनि दिल्ली क्यापिटल्सबाट खेल्दैछन्।

हाल सिपिएल खेलेर गत साेमवारनै फर्केका सन्दीप अहिले आइसोलेसनमा छन्। खेलाडीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियम तोकेको छ । दुबई पुगेका हरेक खेलाडी अनिवार्य आइसोलेसनमा बस्नुपर्नेछ । एक सातापछि उनीहरूको कोरोना परीक्षण हुनेछ । रिपोर्ट नगेटिभ आए मात्रै प्रतिस्पर्धामा उत्रनेछन् । पोजेटिभ आए पुनः आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।