भारतमा टि-२० विश्वकप क्रिकेट हुने

२४ साउन,काठमाण्डौ ।
आगामी वर्ष २०२१ मा आयोजना हुने टि-२० विश्वकप क्रिकेट भारतले आयोजना गर्ने तय भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको शुक्रबार दुवईमा भएको बैठकले यो निर्णय गरेको हो।
यस अघि भारतमानै सो समयमा टि-२० विश्वकप आयोजना हुने तय भएता पनि अस्ट्रेलियामा यो वर्ष अक्टोबर/नोभेम्बरमा हुने भनिएको टि-२० विश्वकप कोरोनाका कारण स्थगित भएपछि आगामी वर्ष भारत या अस्ट्रेलियामा विश्वकप हुने तय भएको थिएन। अब अस्ट्रेलियाले २०२२ मा टि-२० विश्वकप आयोजना गर्नेछ। भारतले त्यसपछि सन् २०२३ को एकदिवसीय विश्वकप आयोजना गर्ने यस अघिनै तय भैसकेको छ। भारतले यस अघि सन् २०११ मा बंगलादेश र श्रीलंकासंग मिलेर संयुक रुपमा एकदिवसीय विश्वकप आयोजना गरेको थियो ।

अन्तिम पटक टि-२० विश्वकपको आयोजना ४ वर्ष अघि सन् २०१६ मा भारतमै आयोजना भएको थियो। उक्त विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि आफ्नो नाम गरेको थियो।
यस अघि टि-२० विश्वकपको आयोजना प्रत्येक २ वर्षमा गर्दै आएको थियो तर आईसीसीले २०२० र २०२१ मा लगातार दुइ वटा टि-२० विश्वकप आयोजना गर्ने निर्धारण गरेको थियो। आईसीसीले टेस्ट च्याम्पियनसिपको फाइनल टेस्ट कहाँ गर्ने अझै तय गरेको छैन। यस अघिको तालिका अनुसार फाइनल २०२१ जुनमा खेलिने बताईएको थियो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।