चप्पल समेत चोरे भरतपुर कोरोना अस्पतालका कर्मचारीले

१६ बैशाख,चितवन ।
कोरोनाभाइरस (कोभिड-१९)को महामारी संग लड्न चितवनमा संचालनमा रहेको भरतपुर कोभिड १९ अस्थायी अस्पतालका कर्मचारीले चप्पल देखि मास्क,सेनिटाइजर र पंखा लगायतका सामान चोरेको सिसिटिभि फुटेज बाहिरिएको छ ।कर्मचारीहरुले नै सामान चोरी गरेपछि अस्पतालमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ । हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका गरिएको छ । प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो । कोरोना आशङ्का गरिएका र सङ्क्रमितको उपचार गर्न भरतपुर महानगरपालिकाले तयार पारेको उक्त अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

यसैबीच कोरोना अस्पतालमा चोरी भएको भिडियो फुटेज बाहिरिएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले स्पष्टोक्ति दिएको छ ।मंगलबार विज्ञप्ति निकालेर कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको छ ।

कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमतिपछि सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँका सामानलाई व्यवस्थित गरिएको जिकिर गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।