बागलुङकी ६५ वर्षीया बृद्दाले जितिन् कोरोनालाई

६ बैशाख,बागलुङ ।
नेपालकी छैटौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्दा शनिबार कोरोना संक्रमण मुक्त भएकी छिन् । उनी आजै डिस्चार्ज हुने तयारीमा छिन् । आज काठमाण्डौमा कोरोना संक्रमित प्रसिद्दी श्रेष्ठ समेत डिस्चार्ज भएकी छिन् । ६५ वर्षीया महिलाको कोरोना संक्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिचार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए । “हामी बैठकमा छौँ”, पोखरेलले भने “घर पठाउने अस्पतालको तयारी छ ।” गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो ।कोरोना संक्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । “चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौँले भने “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।”अस्पतालबाट डिस्चार्ज भएपछि अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो संक्रमित हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।