५ बैशाख,चितवन ।
अहिले देशैभर कोरोनाभाईरस (कोभिड-१९)को र्यापिड टेस्ट भइरहेको छ । तर र्यापिड टेस्टमा भेटिएको अधिकांस पोजेटिभ रिपोर्ट पिसिआर रिपोर्टमा भने नेगेटिभ आईरहेको छ । यसैबिच चितवनको कोभिड १९ प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा पोजेटिभ भेटिएपछि थप परिक्षणका लागि नमुना टेकु अस्पताल पठाईएको छ । तर भरतपुर अस्पताल स्रोतले भने शंकास्पद मात्र भनेको छ ।सो ल्याबमा बिहीबार ३६ जनाको परीक्षण गरिएकोमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको थियो । ती मध्ये ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र राप्ती नगरपालिकाका दुई जनामा कोरोना शंकास्पद देखिएको अस्पतालले जनाएको छ ।उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरू विदेशबाट फर्किएका बताइएको छ । ती मध्ये राप्ती नगरपालिका निवासी एक महिलाको बुधबार गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले बताएका छन् ।
यसअघि पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा ती युवासहित २८ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । चितवनमा गत २४ चैतदेखि औपचारिक रुपमा कोरोना परीक्षण सुरु भएको भए पनि अहिलेसम्म कसैमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले पुष्टि गरेको छैन ।