२५ चैत्र,एजेन्सी ।
बलिउडकी चर्चित गायिका कनिका कपुर विरुद्द सार्वजनिक रूपमा कोरोना भाइरस फैलाएको आरोपमा मुद्दा लागेको छ । कोरोना भाइरस सङ्क्रमण भएकी गायिका कपुर हालै निको भएर घर फर्किएकी छन् । १४ दिनको उपचारपश्चात् सोमबार मात्रै घर पुगेकी उनलाई कोरोना भाइरस सङ्क्रमण भएको बेला पनि कन्सर्ट गरेर रोग फैलाएको आरोपमा मुद्दा लागेको हो । गायिका कपुरले अहिले अस्पतालबाट छुट्न नपाउँदै अदालतको समस्या भोग्नुपरेको छ ।लण्डनमा रहँदा कोरोना भाइरस संक्रमण भएकी उनी भारत फर्किएपछि क्वारेन्टाइनमा नबसी सार्वजनिक कार्यक्रममा हिडेको आरोप लागको छ । मुद्धापछि अदालतले गायिका कपुरलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनलाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन उर्दी गरेको छ ।
मार्च ९ मा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीसँग हेलमेल भएका ६ सयभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।कनिकाले उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालमा दुई साता उपचार गराएकी थिइन । दुई साता उपचारपछि उनी सोमबार बिहान डिस्चार्ज भएकी हुन् ।