१८ फागुन,काठमाडौँ ।
कुनै बेला मोडलको रुपमा चिनिएकी र स्वर्गीय दिनेश अधिकारी ‘चरी’को प्रेमिकाको रुपमा समेत बिबादमा तानिएकी खुश्वु ओलीलाई काठमाडौँ जिल्ला अदालतले दुई बर्षको कैद सजाय सुनाएको छ ।लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईमा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो । दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग उनले घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा उनले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैङ्क न्यूरोड शाखाबाट उक्त चेक ‘बाउन्स’ भएको थियो ।
खातामा रकम नरहेको भन्दै बैङ्कबाट फर्काइएपछि आफूले उनलाई त्यसको जानकारी दिएको कटुवालको भनाइ छ । खुस्बुले केही दिनपछि रकम जम्मा गरिदिन्छु भन्दै आश्वासन दिएको तर फेरि पनि खातामा रकम नभएको भन्दै बैङ्कबाट फर्काइएको उनले बताए । तीन पटकसम्म यसरी नै बैङ्कबाट फर्किनु परेपछि उनले कानुनी उपचार खोजेका थिए ।
गत वर्ष उनले काठमाडौँ जिल्ला अदालतमा उनी विरुद्द चेक अनादरको मुद्दा दायर गरेका थिए । गत जेठमा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मिति देखिको साँवा, ब्याज समेत तिर्नुपर्ने फैसला गरेको थियो ।अदालतको फैसला कार्यान्वयन नभएपछि कटुवाल फेरि न्याय माग्दै अदालत पुगे । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्कमा नआएपछि कटुवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै अदालतले खुस्बुलाई दुई वर्ष कैद सजाय तोकेको हो ।