काठमाण्डौ ।
अमेरिका बस्दै आएका नेपाली युबा दिवेस पोख्रेल विश्व चर्चित रियालिटि शो अमेरिकन आईडलमा पुगेका छन् । उनले आईडलमा अडिसन दिएर सफल समेत भएका छन् ।काठमाडौंमा जन्मिएका २१ बर्षीय दिवेशको निर्णायकहरुले समेत प्रंससा गरेका छन् । स्टेज नाम आर्थर गनको रुपमा परिचित उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’
आफू निकै सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् । पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए ।
नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् । अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको उनले बताए ।
अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ बताएका छन् । यसलाई आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रुपमा पनि हेरेका छन् ।
तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गरेका थिए भने निर्णायकमा रहेकी गायिका पेरीले दुई हात जोडेर नमस्ते फर्काउँदै मिठासपुर्ण रुपमा ‘नमस्ते’फर्काएकी थिईन् ।