काठमाण्डौ ।
सर्बाधिक आलोचित बनेकी गायिका आस्था राउत र बिमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठ बिचको लफडालाई लिएर लेखक हेमन्त गिरीले रमिताको तर्फ बाट गायिका राउतलाई खूल्ला पत्र लेखेका छन्-
बैनी,
गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !
तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो !
गाह्रो छ नि बैनी- सबथोक सहन अनि सबथोक झेल्न !
थाहा छ बैनी रु तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमी सँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन् !
हाम्रो विभागीय संरचना नै अलि निर्मम छ- हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् ! त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमी माथि पर्न गयो होला ! तरतिमी त देशका गीत गाउने, चेलीका गीत गाउने, गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित, सभ्य र सहरिया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बैनी !
सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त- तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठुलो जमातले ‘डन्ठिनी’ लाई ठिकै गर्यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?
आस्था हरायो भने संसार रहँदैन,सम्बन्ध रहँदैन,संरचना रहँदैन ! र त्यो आस्था पद, पैसा र प्रतिष्ठासँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बैनी ! अहङ्कारले अँध्यारो तर्फ लैजान्छ !
म अझै पनि तिम्रो पहराको लागि खटिनेछु- भिड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दरिलो आस्था उमार्न सकूँ ।