गत वर्ष ‘सुर्य इन्टरनेशनल एवार्ड २०१८’को आयोजना भएको थियो । आज दोस्रो संस्करण संचालन भैरहेको छ, जापानमा ।सुर्य कर्पोरेशनले आयोजना गरेको एवार्डका लागी नेपालदेखि दर्जनभन्दा धेरै कलाकार र पत्रकारको टिम त्यहाँ पुगेको छ । ‘नाकानो जिरो’ हलमा भैरहेको एवार्डको अचम्मको पाटो त के हो भने, हलमा आयोजक र नेपालबाट गएका कलाकार मात्रै उपस्थित भएका हुन् कि भन्ने महशुस गर्न सकिन्छ । जापानबाट प्राप्त तस्विरअनुसार दर्शक भन्दा धेरै अतिथी छन् ।यो एवार्डमा लोकप्रिय महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी चार दशक भन्दा लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय नीर शाहलाई ‘सुर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । तिन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान’ मार्फत सम्मानित गरिने आयोजकले जनाएको छ ।
एवार्डमा सहभागी हुनका लागी नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, स्वेता खड्का, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री, कमल खत्री, बर्षा राउत, विजय लामा, बुद्धि तामाङ, दिपेन्द्र लामा, हेमन्त शर्मा, संजीव पराजुली , टिका प्रसाईं , महादेव त्रिपाठी लगायतका कलाकारहरु त्यहाँ पुगेका छन् ।
एवार्डमा ६ चलचित्र, ६ संगीतका विधालाई समेटिएको छ । साथै , क्रिटिक्स एवार्डमा निर्देशक, अभिनेता र अभिनेत्रीको विधा समेत छ । यसको एवार्ड समारोहमै विजेता घोषणा गरिदैँछ ।
आयोजकले निकै भव्य रुपमा एवार्ड सम्पन्न गर्ने बताएको थियो । तर, दर्शक उपस्थित नभएको हलमा नेपालबाट गएका कलाकार र पत्रकारहरुका विच एवार्ड कार्यक्रम सम्पन्न हुने भएको छ । दर्शक कम हुँदा उपस्थित कलाकारले खल्लो महशुस गरेको बताइन्छ । आयोजकले जापानमा रहेका नेपालीहरुमाँझ प्रचार प्रसारमा ध्यान नदिएका कारण दर्शकको संख्या पातलो रहेको बुझिएको छ ।
आयोजक निकट एक पत्रकार भन्छन्, ‘जापानमा रहेका नेपालीहरुले उक्त एवार्ड बिबादित भएपछि उपस्थित नभएका हुन् ।’ विगतदेखिनै विवादमा परेको यो संस्थाले मानव तस्कर गरिरहेको आरोप समेत लागेको छ । यद्यपी आयोजकले एवार्डलाई विवादमा ल्याउन खोज्नेहरुले यस्तो आरोप लगाएको जनाएको छ ।
साप्ताहिक