रवि लामिछानेसहित तीनजना चितवन जिल्ला अदालतमा

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहनको आरोपित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजना आईतवार चितवन जिल्ला अदालत पुगेका छन् । चितवन जिल्ला अदालतको आदेशअनुसार लामिछानेसहित पत्रकार युवराज कंडेल र रुकु भनिने अस्मिता कार्की तारेखका लागि अदालत पुगेका हुन् ।आरोपी सहित उनीहरुका साक्षीहरु पनि अदालतमा उपस्थित भएका छन् । आरोपी तीनजना नै अदालत पुगेपछि साक्षी बकपत्र सुरु भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन् ।

आत्महत्याको दुरुत्साहन आरोपमा पक्राउ परेका लामिछानेलाई ५ लाख रुपैयाँ, कंडेललाई ३ लाख रुपैयाँ र अस्मितालाई सादा तारेखमा रिहा गर्न चितवन जिल्ला अदालतले गत भदौ ९ मा आदेश दिएको थियो ।

साक्षी बकपत्रका आधारमा अब मुद्दाको पेशी तोकिनेछ । आत्महत्या दुरुत्साहनको आरोप लागेपछि तीनैजनालाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।आत्महत्याको आरोपमा तीनैजना विरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको थियो।

चितवन जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि रवि र युवराज उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका छन् । त्यस्तै उच्च सरकारी वकिलको कार्यालयले पनि चितवन जिल्ला अदालतको निर्णयविरुद्ध निवेदन दिएको छ।

नागरिक खबर

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।