१० करोड हिनामिना आरोपमा विवेकशील अध्यक्ष थापा

काठमाडौं ।

विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्ज्वल थापालगायतले भूकम्पपीडितका लागि भन्दै उठाएको रकम झन्डै १० करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अध्यक्ष थापासहित किरण सिटौला, विधान राणाविरुद्ध नविन श्रेष्ठले दिएको उजुरीमा छानबिन भइरहेको छ। यसबारे बिहीबार पनि जिप्रका काठमाडौंमा छलफल भएको छ।‘विवेकशीलको अध्यक्ष नउठ्ने भनेर उज्ज्वलजीले बाहिर त्याग गरेको जस्तो देखिए पनि खासमा भूकम्पपीडितका लागि नेपाल र अमेरिकामा उठाइएको पैसाको हिसाबकिताब बुझाउन सक्नुभएको छैन्,’ विवेकशीलका एक नेताले बिहीबार नेपालन्युजसँग भने, ‘त्यो पैसा फरफारक नपारेपछि उजुरी पर्‍यो, उजुरीबारे छानबिन गर्न असहयोग गरिरहनु भएको छ।’

आगामी कात्तिक १ र २ गते जनकपुरमा विवेकशीलको महाधिवेशन हुँदैछ। त्यसभन्दा अघि नै थापाले असोज १ गते फेसबुकमा स्टाटस लेखेर विवेकशीलको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए।

काठमाडौंस्थित बूढानीलकण्ठ स्कुलमा पढ्ने पूर्वविद्यार्थीहरूको संगठन ‘सोसाइटी अफ एक्स बूढानीलकण्ठ स्कुल’ (सेब्स) नामबाट भूकम्पपीडितलाई भन्दै अमेरिकामा ५ करोड, नेपालमा २ करोड र विवेकशीलले नेपाली पार्टीले २ करोड १० लाख रुपैयाँ उठाएको सम्बद्ध स्रोतले जानकारी दियो।

उजुरीमा पनि ‘सेब्स नर्थ अमेरिका’ नामको संस्था खोली आरोपित सिटौलाले अमेरिकामा ४ लाख ६८ हजार ५ सय ५८ अमेरिकी डलर (५ करोड ६० लाख रुपैयाँ) बराबर रकम उठाएका थिए। जसमध्ये ३ करोड ५२ लाख सिटौलाले आफैंले व्यक्तिगत खर्च गरेको आरोपपत्रमा उल्लेख छ।

यसरी उठाइएको रकममध्ये सेब्स, नेपालका अध्यक्ष राणालाई १ करोड १३ लाख ६३ हजार ४ सय रुपैयाँ सिटौलाले नेपाल पठाएका थिए।

‘उक्त रकममध्ये २ लाख हुन्डीमार्फत् संस्थाको रकम प्रभाकर घिमिरेले विवेकशील पार्टीलाई दिएका हुन्,’ श्रेष्ठको आरोपपत्रमा छ, ‘सेब्स नर्थ अमेरिकाले विवेकशील पार्टीलाई सोझै ३८ हजार १० डलर (४० लाख रुपैयाँ) दिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।’

उल्लेखित तीन संस्थाले वार्षिक लेखापरीक्षणमा समेत सम्पूर्ण रकमको आयव्यय विवरण स्पष्ट खोल्न नसकेको र उक्त कार्य लुकाउने उद्देश्यले आ–आफनो संस्थामा वर्षैपिच्छे लेखापरीक्षक र लेखापालसमेत परिवर्तन गरी हिसाबकिताब गोलमाल गरेको आरोपसमेत उजुरीमा छ।

‘सोही उजुरीबारे आज पनि सिडिओ कार्यालयमा छलफल भएको छ। छलफल जारी रहेकाले मिडियामा नै नभन्ने नीति छ,’ सेब्सकी महासचिव सुपुन दाहालले नेपालन्युजसँग भनिन्, ‘जबसम्म सिडिओ कार्यालय र अदालतले दोषी प्रमाणित गर्दैनन् तबसम्म त्यो आरोपमात्रै हो भनी बुझिदिनुहोला।’

आगामी शनिबार सेब्सको वार्षिक साधारणसभा भएकाले उक्त उजुरीबारे सोही स्थानमा थप छलफल हुने महासचिव दाहालको भनाइ छ।

अमेरिकामा रहेका सिटौला, काठमाडौंमा रहेका थापा र राणाद्वयले भूकम्पपीडितलाई दिएको राहतका तस्बिर आ–आफ्ना फेसबुक पेजमा राख्ने गरेको तर तीनैजनाले एउटै तस्बिर राखेर परिणाम देखाउने गरेको बूढानीलकण्ठका एक पूर्वविद्यार्थीले जानकारी दिए।

‘तर, अहिले थापा, राणा र सिटौलाले तीनै संस्थातर्फ राखिएका तस्बिर भने हटाइसकेका छन्, अहिले खोज्दा भेटिँदैन,’ उनले भने।

त्यसमाथि, काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनालाई उठाउँदै चन्दास्वरूप उठाइएको रकमको हिसाबकिताब देखाउन नसकेको आरोप पनि अध्यक्ष थापामाथि छ।

‘भूकम्पपीडित र स्थानीय तहको चुनावमा थापाको नेतृत्वमा करोडौं उठाइएको थियो। त्यो देखाउन नेतृत्वसमक्ष पटक–पटक पार्टीमा प्रश्न उठेको पनि थियो,’ विवेकशीलका अर्का एक नेताले भने, ‘तर, अध्यक्षज्यूले हिसाब देखाउन आनाकानी गर्दै आउनुभएको छ।’

पहिले आर्थिक सहयोगका विवरण पार्टीको वेबसाइटमा राख्ने गरिए पनि उजुरीपछि भने कुनै पनि विवरण साइटमा उपलब्ध छैनन्। पार्टीसँग रहेको सबै रकमलाई पनि पारदर्शी बनाइएको छैन।

तर, विवेकशीलका प्रवक्तासमेत रहेका मिलन पाण्डेले भने रकमलाई लिएर पार्टीभित्र कुनै पनि उजुरी नपरेको दाबी गरे।

‘पहिला वेबसाइटमा सबै रकम पारदर्शी राखिएको थियो तर अहिले नराखिएको हुनसक्छ। आर्थिक पारदर्शितामा विवेकशील सबैभन्दा अगाडि नै छ,’ पाण्डेले नेपालन्युजसँग भने।

वेबसाइटमा उपलब्ध नभए पनि निर्वाचन आयोगसमक्ष पनि आर्थिक विवरण जस्ताको तस्तै पेस गरिएकाले हिनामिनाको शङ्का गर्न आवश्यक नरहेको पाण्डेको भनाइ छ।

त्यसो त थापालगायतले बूढानीलकण्ठ स्कुलस्थित पुस्तकालय भवन बनाउन तथा पुस्तक खरिदका लागि सन् २००३÷०४ मा विश्व बैंकले दिएको २ लाख ५० हजार डलरको हिसाब पारदर्शी देखाउन नसक्दा अझै फस्र्यौट हुन नसकेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

सेब्सका अध्यक्ष राणा, सेब्स नर्थ अमेरिकाका प्रमुख सिटौला र विवेकशील अध्यक्ष थापालगायत विरुद्ध परेको आर्थिक हिनामिना उजुरीबारे छानबिन प्रक्रिया जारी रहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले बताए।

‘आज पनि उहाँहरूलाई बोलाएका थियौं। सेब्सको साधारणसभा गर्न सर्वोच्चले पनि बाटो खुलाइदिएकाले रोक्ने कुरा भएन,’ सिडिओ दाहालले नेपालन्युजसँग भने, ‘तर, आर्थिक अनियमितता भएको भन्ने उजुरीबारे भने छानबिन रोकिन्नँ, त्यो जारी रहन्छ।’

उनका अनुसार त्यसबारे थप प्रमाण जुटाउँदै छानबिन गर्नका लागि सहायक सिडिओलाई निर्देशन दिइसकिएको छ। उनका अनुसार आज बिहीबार सहायक सिडिओले अध्यक्ष राणा र महासचिव दाहाललगायतलार्य बोलाएर छलफल गरेका छन्।

ठूलो परिमाणबराबरको आर्थिक हिनामिना गरेको आरोपबारे जिज्ञासा राख्दा विवेकशील अध्यक्ष थापाले पार्टीको लोकप्रियता घटाउनका लागि व्यक्तिगत रिसइबीका कारण उजुरी दिइएको दाबी गरे।

‘व्यक्तिगत रिसइबी तथा दरबारियाको एक समूहले हामीविरुद्ध बदनाम गराउने उदेश्यसहित उजुरी दिएका हुन्। जसजसले उजुरी दिएका छन्, तिनको पृष्ठभूमि खोज्दा थाहा पाइन्छ,’ उनले नेपालन्युजसँग भने, ‘भुकम्पपीडितक बारेमा हामीले जे जति गरेका छौं, सबै पारदर्शी नै छन्, त्यसमा शङ्का गर्ने ठाउँ छैन।’

राम्रो काम गरिरहेका बेला ध्यान अन्यत्र मोड्न र बदनाम गराउनका लागि उजुरी दिने काम गरिएको थापाले थप दाबी गरेका छन्।

#नेपालन्युज

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।