काठमाडौँ । नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा त्रि–चन्द्रका अखिलका विद्यार्थी नेता प्रवेश गरेर सम्मेलन विथोलेका छन् । आइतबार दिउँसो पुल्चोकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु प्रवेश गरेर हुलदङ्गा गरेका हुन् ।
पत्रकार सम्मेलनमा पत्रकार भनेर प्रवेश गरेका त्रि–चन्द्र क्याम्पस अखिलका गोविन्द थपलिया लगायतका नेताहरुले अन्टसन्ट प्रश्न सोधेका थिए । उनीहरुले नै विवाद निकालेर शाहीमाथि आक्रमणको प्रयास पनि गरे ।
शनिबार नेपालगञ्ज एयरपोर्टबाट काठमाडौँ आउने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईले १ घण्टा बुद्ध एयरको जहाज रोकेको र ज्ञानेन्द्र शाहीलगायतको समूहले गरेको दुरव्यवहारको विषयमा स्पष्टिकरण दिन यो पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
प्रहरी नियन्त्रणमा शाही
पत्रकार सम्मेलन सुरु हुनलाग्दै प्रहरीले शाहीलाई पक्राउ गर्न खोजेको थियो । तर पत्रकारहरुले नै अवरोध गरेपछि प्रहरी फर्किएको थियो । त्यसपछि सामूहिक रुपमा प्रवेश गरेका विद्यार्थी नेताहरुले विवाद निकालेर आक्रमणको प्रयास गरेपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीलाई प्रहरीले जावलाखेल लगेको बताएको छ । सुरक्षाकालागि शाहीलाई नियन्त्रणमा लिइएको जावलाखेल प्रहरीले जनाएको छ ।
शाहीलाई नियन्त्रणमा लिएपछि अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले पुनः पत्रकार सम्मेलन सुचारु गरेका थिए ।








