जेलमा रहेका गुण्डा नाइके तथा नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्त समिरमान बस्नेतसँग मिलेर ठेकेदारसँग फिरौती रकम मागेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइला भाइ नरेशकुमार थापाले इन्कारी बयान दिएका छन्।गुण्डा नाइके बस्नेतले आफूलाई नरेशले जेलमै आएर भेटेको भन्ने बयान दिएपछि प्रहरीले हिरासतमा लिएका गृहमन्त्रीका भाइले उक्त कुराको खण्डन गरेका हुन् । थापाले प्रहरी र सरकारी वकिलसँगको बयानमा आफू जेलमा रहेका गुण्डा नाइके समिरलाई नभेटेको दाबी गरेका हुन् । थापाले प्रतिवादी शैलेस प्रजापति र बिनोद लामालाई चिनेको भए पनि उनीहरूसँग मिलेर अवैध असुली नगरेको दाबी गरे ।
अवैध असुलीको कसुरमा संगठित अपराधमा मुद्दा चलाइएका प्रतिवादी शैलेस प्रजापति र बिनोद लामासँग प्रजापतिको क्याफेमा खाजा खान जाँदा उनीसँग चिनजान भएको थापाले बताए । थापाले प्रजापतिमार्फत अर्का प्रतिवादी पवन खड्कासँग चिनजान भएको पनि बताए ।
समिरमान सिंह बस्नेत समूहसँग मिलेर अवैध रकम असुली गरेको आरोप लागेका थापाले समिरमान र हाल फरार जे भन्ने जादेव अनवरदिनसँग आफ्नो कुनै किसिमको चिनजानसमेत नभएको बताए ।त्यसैगरी थापाले प्रतिवादीहरू सुरेश नगरकोटी, विरबल भट्टराई र मनबहादुर लामालाई नचिनेको दाबी गरे ।थापाले प्रजापति पक्राउ परेको उनको श्रीमतीबाट जानकारी पाएको भन्दै प्रहरी हिरासतमा रहेका प्रजापतिलाई चिनजान भएकाले भेट्न गएको दाबी गरे ।
थापा कारागारमै आएर आफूलाई भेटेको भन्ने बयान समिरले दिए पनि उनले समिरमानलाई नभेटेको र कारागारमै नगएको दाबी गरेका हुन् । विभिन्न ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृहमन्त्रालय हुँदै प्रहरीसम्म पुगेपछि प्रहरीले पवन खड्का र सुरेन नगरकोटीलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।पक्राउ परेकाले गृहमन्त्रीका भाइ नरेशको नाम पोलेपछि प्रहरीले थापालाई प्रतिवादी बनाएर संगठित अपराधमा मुद्दा दायर गरेको हो ।
प्रहरीले थापासहित जेलमा रहेका समिरमानसहित ९ जनाबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूको बयान जारी छ ।