स्वदेश फर्किए ओली

काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यान्ह सिङ्गापुरबाट उपचार गरी स्वदेश फर्किएका छन् । थाई एयरवेजको जहाजबाट त्रिभुवन विमानस्थलमा उत्रिँदा उनी हँसिला देखिन्थे। कालो कोट, दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर आएका उनी उपचारपछि तन्दुरुस्त र स्फुर्त देखिएका छन् ।प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरूले विमानस्थलमा स्वागत गरे। विमानस्थलमा स्वागतका लागि उभिएका नेता कार्यकर्तालाई प्रमले मुस्कुराउँदै अभिवादन गरे। प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो। अस्पतालले उपचार सोचे अनुरुप राम्रो भएको भन्दै बिहीबार डिस्चार्ज गरेको थियो ।

प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्किएका छन्। प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए। यो पटक पनि ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरूसँग कुरा गरेनन्। ओलीले बोल्ने अपेक्षासहित धेरै पत्रकारहरू विमानस्थल पुगेका थिए। तर हात हल्लाउँदै विमानस्थलबाट निस्किएका ओली पत्रकारसँग बोल्दै नबोली सरकारी निवास बालुवाटारतर्फ लागेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।