ओलीले राजिनामा दिने, नयाँ प्रधानमन्त्रीमा प्रचण्डको सङकेत !

काठमाण्डौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढ्दाे हिमचिमपछि आफूहरुबीच एकताताका भएको चार बुँदे सहमतिलाई अनुमाेदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्न उनीहरु सहमत भएका छन्। पार्टी उच्च स्राेतका अनुसार केन्द्रीय सचिवालयले उक्त सहमतिलाई अनुमाेदन गरेपछि त्यसले संस्थागत निर्णयकाे हैसियत हासिल गर्नेछ।र, पूर्व सहमति अनुसार साढे दुई वर्षकाे सत्ताकाे नेतृत्व दाहाललाई हस्तान्तरण गर्न ओली बाध्य हुनेछन्। अर्थात २०७४ चैत्र पहिलाे सातामा सत्ताकाे नेतृत्व लिएका ओलीले २०७७ भदाैसम्ममा दाहाललाई सरकारकाे नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ।

पार्टी भित्र लगातार आफूविरुद्ध समिकरण बन्न थालेपछि पछिल्लाे पटक सिंगापुर स्वास्थ्य उपचारका लागि प्रस्थान गर्नु अघि माधव नेपाललाई एक्ल्याउने र प्रचण्ड लगायत अरु प्रभावशाली नेताहरुलाई खुशी पार्ने नीति ओलीले अपनाएका थिए।उच्च स्राेतका अनुसार ओलीले दाहालसँग खुलेरै माधव नेपाल या अरु कसैसँग कुनै नयाँ समिकरण नबनाउन आग्रह गर्दै पुरानाे सहमतिलाई संस्थागत हैसियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

त्यही अनुसार प्रधानमन्त्रीमा ‘आलाेपालाे’ सहमति अनुमाेदनका लागि केन्दीय सचिवालयमा राखिने भएकाे हाे, ओली सिंगापुरबाट फर्कीए पछि। पार्टीकाे महाधिवेशन त्यसअघि नै सम्पन्न हुन नसके प्रधानमन्त्री पद दाहाललाई बुझाएपछि पनि महाधिवेशनसम्म पार्टी नेतृत्वमा दुवै अध्यक्षकाे व्यवस्था कायम रहने पनि स्राेतकाे भनाई छ।
-देशसञ्चारबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।