काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाली बैंकहरुको प्रणाली ह्याक गरी ग्राहकको गोप्य नम्बर प्रयोग गरेर एटिएम मसिनबाट ठूलो रकम निकालेका छन् । यसमा संलग्न पाँच चिनियाँ पक्राउ परेका छन् भने प्रहरीले अनुसन्धान तीब्र बनाएको छ ।नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए । “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले भने ।
पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताए ।
११ बाणिज्य बैंकको लगानी रहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को भुक्तानी प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको बताईएको छ । कम्तिमा ६ वटा बैंकको प्रणालीमा क्षति पुगेको आशंका ब्यक्त गरिएको छ ।
अधिकांश बैंकका एटीएम सेवा बन्द
ह्याकरको आक्रमणपछि अधिकांश बैंकका एटीएम चलेका छैनन् । चाइजिन ह्याकरले एटीएमको प्रयोग गरी विभिन्न बैंकबाछ ठूलो रकम निकालेपछि एटीएमको सर्भर नै डाउन गरिएको छ ।
‘भिजाकार्डबाट रकम ह्याक गरेको देखियो, ह्याकरहरु चाइनिज छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले थप चोरी हुन नदिन एटीएमको सर्भर डाउन गरेर अनुसन्धान गरिरहेका छौं ।’








