उच्च अदालतले पनि दियो नायिका शिल्पालाई पक्राउ गर्न आदेश

काठमाडौँ ,
बहुविवाहको कसुरसम्बन्धी मुद्दाका अभियुक्त नायिका शिल्पा पोखरेल ओझालाई पक्राउ गर्न उच्च अदालत पाटनले पनि आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले गत यही साउन ८ गते उक्त कसुरमा चलेको मुद्दामा पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । तर उक्त आदेशविरुद्ध निषेधाज्ञाको अन्तरिम आदेशको माग गर्दै पोखरेलले भने कानूनी व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुराँगाई र अधिवक्ता मनोजकुमार यादवमार्फत उच्च अदालत पाटनमा साउन १६ गते निवेदन दर्ता गराएकी थिइन् ।निवेदनमाथि शुक्रबार भएको बहसपछि उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएको हो । इजलास नम्बर ५ भएको बसहसपछि न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले निवेदक पोखरेलले माग गरेबमोजिम पक्राउ गर्न नपर्ने कारण नदेखिएको ठहरसहित यसअघि काठमाडौं जिल्ला अदालतले साउन ८ मा पक्राउ गर्न दिएको आदेशलाई नै निरन्तरता दिन आदेश भएको हो ।

शुक्रबारको आदेशसँगै अब शिल्पालाई पक्राउ गर्ने बाटो उच्च अदालतबाट पनि खुला भएको छ । आदेशपछि पक्राउ पर्नबाट जोगिने शिल्पाको आशामा तुषारापात हुन पुगेको छ । उच्च अदालतमा शुक्रबारको बहसमा निवेदक शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाँई र अधिवक्ता मनोजकुमार यादवले भाग लिएका थिए । विपक्षी हेमा अाेझाकाे तर्फबाट अधिवक्ता स्वागत नेपाल, तुलाषा शर्माले बहस गरेका थिए । छबिकाे तर्फबाट भने कसैले बहस गरेनन् । निवेदनमा काठमाडौं जिल्ला अदालत, टेकु प्रहरी परिसरलगायत ६ वटालाई विपक्षी बनाइएको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश भएकाे हो ।

‘निवेदकको मागबमोजिम अन्तरिम आदेश हुनुपर्ने कुनै आधार र कारण देखिएन’ उल्लेख गर्दै अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो । शिल्पाले विवाहित भएको जान्दाजान्दै चलचित्र निर्माता छबि ओझासँग विवाह गरेको भन्दै छबिका जेठी श्रीमती हेमा ओझाले छबि र शिल्पाविरुद्ध बहुविवाह मुद्दा हालेकी थिइन् । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

त्यसपछि पक्राउ पूर्जी जारी गरेर प्रहरीले दुवै जनालाई व्यापक खोजी गरिरहेको बेला शिल्पा उच्च अदालत पुगेकी थिइन् । दुवै जना फरार सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको छ । दुवै जनालाई छिट्टै पक्राउ गर्ने प्रहरीले जनाएकाे छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।